जेष्ठ ३१,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने जनाएको हो । कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताउनुभयो । अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै द्वारेले यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने जानकारी दिनुभयो । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोस्रो सातामात्र सार्वजनिक हुने भएको छ । प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उहाँको भनाइ छ ।
यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ दुई लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० छात्रा गरी कूल ४ लाख २६ हजार २ सय १४ जना तथा एक्जाम्टेडतर्फ ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी कूल १ लाख ४५ हजार १ सय ८३ जना परीक्षार्थी सहभागी भएका थिए । यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने २ हजार ३७ जना छात्र र १ हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी भएका छन् ।
0 comments:
Post a Comment